लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल, शिक्षालाई व्यक्ति, समाज र अन्तत: राष्ट्रको विशिष्टता उजागर गर्ने मुख्य कडीको रुपमा विश्वास गर्दछ । हामीले शैक्षिक विकासमा सहयोग पुर्याउने उदेश्यले छुट्याईएको केहि रकमबाट नेपालका विपन्न तथा सीमान्तकृत बालबालिकाहरूको निम्ति गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउने लक्ष्य लिएका छौं ।
लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल, शैक्षिक विकासमा समर्पित गैर सरकारी सामाजिक संस्था हो । शिक्षा क्षेत्रमा तीन दशक लामो समय समर्पित रहनुभएका समाजसेवी श्री राम बहादुर श्रेष्ठको नेतृत्वमा यो संस्था औपचारिक रुपमा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गरिएको छ ।
हाम्रो यस संस्थाले नेपालका हरेक बालबालिकाले उनीहरुको जस्तोसुकै सामाजिक आर्थिक पृष्ठभूमि भएतापनि शिक्षाको समान अवसरबाट बन्चित हुनु हुँदैन भन्ने दृढ मान्यता राख्दछ । हामी शिक्षा आधारभूत मानव अधिकार हो भन्ने विश्वास गर्दछौं र यो सबैका निम्ति सहजै उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्दछौं ।
यस लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक स्व. श्री राम बहादुर श्रेष्ठको सम्झनामा उहाँको उल्लेखनीय योगदान र प्रेरणादायी जीवनलाई स्मरण गर्न चाहन्छौं । राम बहादुर श्रेष्ठको जन्म संखुवासभा जिल्लाको खाँदबारी ढुंगेधारामा वि. सं. २००५ साल माघ ८ गते भएको हो । कलिलो उमेर देखि सामाजिक काममा अग्रसर भई नेतृत्व लिन चाहने उहाँको स्वाभाव थियो । उहाँले १६/१७ वर्षको उमेरमा नै आफ्ना पिताको सल्लाहमा छिमेकी मुलुक भारत पुगेर शिक्षक खोजेर ल्याई समुदायको शैक्षिक विकासमा आफ्नो उदाहरणीय नेतृत्व क्षमता देखाउनु भएको थियो ।
राम बहादुर श्रेष्ठ समाजलाई राजनीतिले मार्गदर्शन गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । उहाँ स्वयम पनि राजनीतिक रुपमा सक्रिय रही सामाजिक सेवामा समर्पित हुनुहुन्थ्यो । उहाँ पन्चायत शासनकालमा किसान संघको केन्द्रीय संयुक्त सचिवालय सदस्य र २०४७ पछिको बहुदलीय व्यवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध हुनुभयो ।
लायन्स मनराम प्रतिष्ठानको स्थापना राम बहादुर श्रेष्ठको सामाजिक विकासप्रतिको दृष्टिकोण र उहाँको समाज प्रतिको समर्पणको उपज हो । नेपालमा बस्ने आम मानिसहरूमा सकारात्मक प्रभाव पार्न यस संस्था मार्फत गरिने कार्यहरुमा उहाँको चाहना र सपनालाई जीवितै राखी निरन्तरता दिने प्रयास गरिएको छ ।
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षको हैसियतले, म हाम्रा प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. राम बहादुर श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । उहाँ शिक्षा हरेक बालबालिकाको जन्मसिद्ध अधिकार हो भन्ने गहिरो विश्वास राख्ने एक दुरदर्शी अग्रज हुनुहुन्थ्यो । उहाँले आफ्नो दृष्टिकोणलाई प्रतिष्ठान मार्फत यथार्थमा रुपान्तरण गर्न जग बसाल्दै हामीलाई सधै सहि दिशानिर्देश गर्नुभयो । हामी उहाँको महान विचार र नेतृत्व प्रति सधैं आभारी छौं ।
यस लायन्स मनराम प्रतिष्ठानमा, आजका बालबालिका नै भोलिका अगुवा हुन् भन्ने दृढ विश्वास राख्दछौं । ति बालबालिकाहरूलाई उचित हेरचाह, उपयोगी शिक्षा, स्वास्थ्य सुविधाहरु र असल नैतिक आचरणहरूको सुनिश्चित गर्नु हाम्रो दायित्व हो भन्ने धारणा राख्दछौं । हामी हाम्रो प्रतिष्ठानको सहकार्यमा देशका ७७ जिल्लाका विद्यालयहरुमा १०० पुस्तकालय स्थापना गर्न सफल भएको सगर्व घोषणा गर्न चाहन्छौं । हामी नेपालभरका बालबालिका माझ शिक्षाको अवसर विकास गर्न निरन्तर तत्पर रहने अठोट गर्दछौं ।
नेपाली समुदायमा शिक्षाको ज्योति छर्ने कल्याणकारी आन्दोलनमा सघाउनु हुने सबै व्यक्ति र संस्थाहरूमा हामी हृदय देखि नै कृतज्ञता व्यक्त गर्छौं । हाम्रो यो प्रयासमा हाम्रा सबै सहयोगी र शुभचिन्तकहरूबाट निरन्तर सहयोग र सहानुभूति पाइराख्ने आशा राखेका छौं ।
नेपालका हरेक बालबालिकाहरू माझ गुणस्तरीय शिक्षा पहुँच सुनिश्चित गर्न र उनीहरुको क्षमता स्वमुल्यांकन गर्ने अवसर प्रदान गर्ने कार्यमा हामी सँगसँगै जुटौं ।