About Manaram Library

१. पृष्ठभूमि

लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल,  संघ संस्था ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौमा वि.सं. २०६८ साल भाद्रमा विधिवत दर्ता भएको एक  गैर-सरकारी संस्था हो ।

मनराम प्रतिष्ठानको स्थापना मरिसिविल सिटिका प्रमुखद्वारा उहाँको निवासमा आयोजित रात्रिभोजमा भएको विशेष छलफल पश्चात गरिएको थियो, जहाँ तत्कालिन महासचिव राजन लम्साल जो लायन्स क्लवका मल्टिपल काउन्सिल प्रमुखका रुपमा उपस्थित हुनुहुन्थ्यो, साथमा संस्थाकी संरक्षक लायन मन माया श्रेष्ठ, लायन प्रमुख राम बहादुर श्रेष्ठ, सह अध्यक्ष लायन सुजन कुमार श्रेष्ठ, आजीवन सदस्य सुमन कुमार श्रेष्ठ र आजीवन सदस्य इन्दु लम्साल सहित लगभग सय जना सहभागीहरु उपस्थित हुनुहुन्थ्यो ।

उक्त छलफलको निचोडको रुपमा, नेपालमा शिक्षाको विकासका लागि कोष स्थापना गर्ने सहमती भइ यस प्रतिष्ठानको स्थापनासम्म आइपुग्यौं । सोहि समयदेखि  नै लायन्स मनराम प्रतिष्ठान २००५ नेपालले नेपालमा रहेका बालबालिकाहरुको माझ शिक्षाको अवसर सुधार गर्न समर्पित हुँदै आएको छ  ।

२.पुस्तकालय स्थापना र सन्चालन

नेपालका हरेक जिल्लाहरूमा संस्था स्थापनाको पहिलो पाँच वर्ष भित्रमा १/१ वटा पुस्तकालय स्थापना गर्ने मनराम प्रतिष्ठानको सुरुवाती लक्ष्य थियो । त्यसो त पहिलो ४ वर्षको समयावधि मै हामीले नेपालका सबै ७७ जिल्लाका १०० सामुदायिक विद्यालयहरूमा पुस्तकालय पुर्याउन सफल भयौं ।

पुस्तकालयका बारेमा थप जान्नुहोस्- Criteria: https://manaram.org/libraries/library-criteria/

३. सम्मान

२०७१ साल भाद्र १५ गते सातौं पुस्तकालय दिवस कार्यक्रम आयोजक मुख्य समितिमा सहभागी हुने अवसर मनराम प्रतिष्ठानले प्राप्त गर्यो । सोहि अवसरमा यस प्रतिष्ठानललाई तत्कालिन माननीय शिक्षा मन्त्रि  श्री चित्र लेखा यादवको हातबाट “उत्कृष्ट पुस्तकालय-सेवा संस्था” को सम्मान प्रदान गरियो ।

४. प्रकाशन

यस मनराम प्रतिष्ठानद्वारा चर्चित व्यक्तित्वहरु तथा संखुवासभाका लोकगाथालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ लेखकहरू गोपाल प्रसाद निरौलाको “अरुण उपत्यकाको संक्षिप्त शैक्षिक इतिहास” र तारा बहादुर बुढाथोकीद्वारा लिखित “अरुण उपत्यकाका लोकभाका” यस प्रतिष्ठान मार्फत प्रकाशित छन् । हरेक वर्ष प्रतिष्ठानको स्मारिका प्रकाशन गर्ने उदेश्य  अनुरुप, दोश्रो संस्करण प्रकाशित गरिएको छ ।

५. इ-पुस्तकालय

 

स्थापना भैसकेका पुस्तकालयहरुको क्षमता वृद्धि हुँदै गएको परिप्रेक्ष्यमा मनराम प्रतिष्ठानले इन्टरनेट सुविधा भएका केहि पुस्तकालयहरुमा इ-पुस्तकालय सन्चालनमा ल्याएको छ।

इ -पुस्तकालय सुविधा भएका विद्यालयहरु निम्न छन्:-

  • हिमालय माध्यामिक विद्यालय, -खाँदबारी संखुवासभा
  • महेन्द्र माध्यामिक विद्यालय, -खाँदबारी संखुवासभा
  • सरस्वती माध्यमिक विद्यालय, -चैनपुर, संखुवासभा
  • सहिद स्मृति माध्यामिक विद्यालय, -धरान, सुनसरी

 

६. निराक्षर अभियानमा सहभागिता

नेपाल सरकारले निरक्षरता हटाउन राष्ट्रिय अभियान सुरु गरेको छ । यस पहललाई सफल बनाउन गैर सरकारी संस्थाहरुको सकारात्मक पहल अत्यन्त आवश्यक हुन्छ । यस सन्दर्भमा मनराम  प्रतिष्ठानले संखुवासभा जिल्लाको निरक्षरता उन्मुलनका लागि जिल्ला शिक्षा कार्यालयका साथै अन्य विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

७. छात्रवृत्ति

लायन्स मनराम प्रतिष्ठान २००५ नेपालले मनराम हिमालयन ह्याण्डीक्राफ्ट प्रा.लि.सँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कृषि तथा पशुचिकित्सा विज्ञान संस्थानमा अध्ययन गर्ने महिला विद्यार्थीहरूलाई लक्षित गर्दै स्नातक तह कृषि विज्ञान र स्नातक तह पशुचिकित्सा विज्ञान शैक्षिक छात्रवृत्ति कार्यक्रम सुरुवात गरेको छ । यस कार्यक्रम अन्तर्गत  हरेक वर्ष स्नातक तह कृषि विज्ञान समूहमा २ जना महिला विद्यार्थी  र स्नातक तह पशुचिकित्सा विज्ञान समूहमा १ जना महिला विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यो छात्रवृति कार्यक्रमले आर्थिक अभावका कारण गुणस्तरीय उच्च शिक्षा हासिल गर्न कठिन भएका कृषि तथा पशु चिकित्सा विज्ञानमा आफ्नो व्यक्तित्व विकास गर्न चाहने महिला विद्यार्थीहरूका निम्ति ठुलो अवसर हो । लायन्स मनराम प्रतिष्ठान २००५ नेपाल र मनराम हिमालयन ह्याण्डीक्राफ्टले यो पूर्ण छात्रवृत्ति सहयोग कार्यक्रम मार्फत कृषि तथा पशु चिकित्सा विज्ञानका क्षेत्रको विकासका निम्ति समान अवसर सिर्जना गर्न प्रोत्साहनको प्रायस गर्दैछ ।

८.पुरस्कार तथा अन्य गतिविधिहरू

मनराम प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय श्री राम बहादुर श्रेष्ठको स्मृतिमा मनराम एसकेएजे पत्रकारिता पुरस्कारको सुरुवात गरिएको छ । संखुवासभा जिल्लालाई कार्यक्षेत्र बनाइ सक्रिय रहने एकजना पत्रकारलाई नगद रू. २५०००.०० (रुपैयाँ पच्चीस हजार) राशिको उक्त पुरस्कार वार्षिक रुपमा प्रदान गरिँदै आएको छ ।

पुरस्कारको उदेश्य सम्बन्धित क्षेत्रमा क्रियाशील उच्चस्तरीय पत्रकारिताको पहिचान गरि प्रोत्साहन गर्नु हो ।

संखुवासभा सापेक्षित रुपमा दुर्गम र विकासोन्मुख क्षेत्र भएकोले स्थानीय समुदायहरूलाई सुसुचित गर्न र सशक्तीकरणका निम्ति पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्दछ । मनराम प्रतिष्ठानले स्थानीय जिम्मेवार निकायहरूलाई जवाफदेहि बनाउन यस क्षेत्रमा क्रियशील पत्रकारहरुको कार्यक्षमतालाई मुल्यांकन गर्दै समसामयिक सचेतनाका महत्वपूर्ण विषयवस्तुहरुलाई उजागर गर्न सघाउँदै आएको छ ।

यसका साथै संखुवासभाका चर्चित व्यक्तित्वहरू र लोकगाथाहरुलाई मुखरित गराउन अग्रसर लेखकहरूलाई प्रोत्सहान गर्न मनराम प्रतिष्ठान मार्फत उहाँहरूका कृति प्रकाशन गर्दै आएको छ । लायन्स मनराम प्रतिष्ठान अहिले विशेष रुपमा पुस्तकालयहरुको स्थापना र क्षमतावृद्धिमा अघि बढेको छ ।

यी प्रयासहरुका साथमा, प्रतिष्ठानले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक समाग्री वितरण लगायत सरकारी निकायहरू सँगको सहकार्यमा  निराक्षरता उन्मुलनका अभियान जस्ता सामाजिक सेवाका कार्यहरुमा आफ्नो संलग्नता देखाउँदै आएको छ । 

किवानिस नेपाल डिस्ट्रिक्ट र स्थानीय किवानिस क्लबहरूसँगको सहकार्यमा यस मनराम प्रतिष्ठानले संखुवासभाका विपन्न तथा सीमान्तकृत वर्गका बालबालिकाहरूलाई ३,००,००० (तीन लाख) थान भन्दा बढि अभ्यास पुस्तिका र  कलमहरु, साथै केहि विद्यालयहरूमा कम्प्युटर सामग्रीहरू वितरण गरेको छ ।